Tuesday, April 12, 2022

दादा आखिर म बाच्न पाउदिन र ?


        साझको निस्याम्म परेको समयमा तेल सकिएर निभ्नै लागेको आगोले आफ्नो दाइने हातका औलाहरू फर्काउदै आफ्नो मृत्युको प्रतिक्षा गरिरहेछ । आफ्नो जीन्दगीको समाप्त आफै देखिरहेको दियोले झिनो आश गरिरहन्छ , कही कतै वाट कोहि मान्छे आएर अलिकती तेल थपिदिन्छकि भनेर । कसैका लागि कति क्रुर हुन सक्छ यो बिधाता ,किन भोग्नुपर्छ यस्तो पिडा ?

        प्रकृतिको सुन्दर नगरी नेपालको एउटा कुनामा बसन्त ऋतुको समय, न त जाडोको टिठलाग्ला भन्ने डर, न त गर्मीले हपक्क पसिना आउछकि भन्ने रन्को । कस्तो स्वर्गजस्तो आनन्दलाग्दो समय । जेनतेन हासीखुसीमा बाचिरहेको एक सानो परिवार । जसको न धेरै थेग्न नसक्ने आकाङ्क्षा न त भोली के खाने होला , क जोहो गर्ने होला भन्ने पिर ।न कसैसंग शत्रुता  न कसैसंग एकदमै मित्रता नै । जेनतेन चलिरहेको छ परिवारको जीवन । भनिन्छ नि समय आउछ रोकिदैन उस्ले आफ्नो स्वार्थ पुरा गरेर जान्छ तर भोग्नुपर्छ त यहा केवल मान्छेले नै ।सुन्दर अनि एक सबल परिवारका सदस्यहरूमा एक अन्दाजी नब्बे बर्षकी बुढी बिधवा हजुरआमा ,उनका एक छोरा अनि बुहारी अनि एक-एक ओटा नाती,नातिनी । भाग्यमा लेखेर दिएको परिवार ।धन्यबाद दिनैपर्छ बिधातालाइ , जस्ले यति राम्रो शृष्टी रचना गरेर दियो ।भन्छन् नि खुसी धेरै टिक्दैन अनि दुख पाउन धेरै समय पर्खिनुपर्दैन , हो त्यस्तै भयो एक्कासी हाम्रो परिवारमा पनि । सबै कुरा राम्रै चल्दै गएको बेला एक्कासी बहिनीलाइ सञ्चो भएन । गाउँले जिवन नेपालि प्रवृती , सानोतिनो बिरामीहुदा तातो पानी खाएर , जम्भुझोल अनि अदुवापानी खाएर निको हुन्छकि भन्दै आमाले बहिनीलाइ नानाथरी घरयासी उपचार गर्नुभयो । कहिले सञ्चो भएझै हुने अनि कहिले एकदमै गाह्रो भएको महशुस बहिनिले गर्न थाली । दिन बित्दै गयो , समय घर्किदै गयो तर बहिनीको स्वास्थ्यमा खासै सुधार देख्न पाइएन । यसबिच हामीले बहिनीलाइ काठमाडौं लैजाने बिचार गर्याै । तदनुरूप गाउँका हुनेखाने अनि बुझेलेखेका मान्छेले टिचिङ् हस्पिटल लैजाने सल्लाह दिए र हामीले गर्याै पनि त्यस्तै ।

         अलिकती ब्याबस्थित नभएको हस्पिटल भएपनि हामीले बिभिन्न डाक्टरहरूलाइ देखायाै , बिभिन्न दाैडधुप सुरु पछि पत्ता लाग्यो बिरामी हुनुको रहस्य , र हामीलाइ त्यहि भयो जुन हामीले सपनामा पनि भएको देख्न चाहन्नथ्याै।कसरी आउछ मान्छेको जीवनमा काडाँका प्रहारहरू , किन जीउदै जन्मिएर पनि मरे जस्तो लाग्छ मान्छेलाइ , किन सबैकुरा भएपनि केहि नभएको जस्तो लाग्छ मान्छेलाइ । किन आफुलाइ यति धेरै निरिह पाँउछ संसारको सबैभन्दा सर्वश्रेष्ट प्राणी भन्ने मान्छे अनि किन आफ्नै जीन्दगीमाथी धिक्कार लाग्छ मान्छेलाइ ?
        अनुहारमा चम्किला देखिएपनि तिम्रो सहरमा का…..ला मन भएका मान्छेहरू बस्दा रहेछन् । न कसैको मतलब लिन्छन् त न कसैको गुनासो नै सुन्छ तिम्रो सहरले । यो सहरको एक एक गल्लीहरूमा कयाै दुखेसोहरू भएर होला तिम्रो सहरले सानातिनाको कुरा सुन्न छाडेको , हो त्यस्तै भोग्नुपर्यो मैले पनि । इङ्गलिस्मा एउटा उखान छ नि डिजास्टर अकर्स एट दि मोस्ट इनअपर्ट्युन टाइम् , त्यस्तै हुन पुग्यो मेरो जीन्दगी पनि । हस्पिटलले दिएको सेतो पानामा काला अक्षरमा मुटुमा भाला रोप्ने गरि लेखिएको थियो ,तपाइको बहिनिको दुबै मृगाैलाले काम गर्दैन भनेर ।

       उमेरले उन्नाइस काटेर बिस लाग्न आटेको बहिनीलाइ यस्तो सङ्कट कहिल्यै आइपर्ला भन्ने मैले कहिल्यै सोचेको पनि थिएन । यस्तो कुरा सुन्दा पनि किन बेहोस् हुदैन रहेछ मान्छे , आफुले थेग्न नसकेको भारी बोकेर दाैडिन पर्ने पनि समय आउदो रैछ मान्छेको जीवनमा ।

                       सहन सक्दो रहेछ यति धेरै अपमान पनि
                       यहि बेला किन जादैन मेरो परान पनि ,
                       कसैलाइ काखा कसैलाइ पाखा गर्ने रहेछ ,  
                       घाती रहेछ आफैले पुज्ने भगवान पनि । 

       घरको बरन्डामा बस्दै सोच्दिहो बहिनिले , यो कलकलाउदो जबानीमा सबै आफ्नै उमेरका साथीहरू हातमा हात समाउदै , अङ्गालो मार्दै जबानीको रश लुटिरहेको छन् ,लगामबिनाको घोडा जस्तो जता जान मन लाग्यो त्यतै गयो , जे मन लाग्यो त्यहि खायो , जे गर्न मन लाग्यो त्यहि गर्यो कति आनन्द छ है तिनीहरूको जीवन।अर्कोतिर आफ्नो भने एक तर्फि प्रेम बसेको छ हस्पिटल संग , अनेक नानाथरी औसधिसंग। यो कस्तो बाध्यता अनि विवसता , मलाइ जे चाहन्न त्यहि हुन्छ किन ? मनमा अनगिन्ती पिडाका पोकाहरू राख्दै उकुसमुकुस हुदै बिताइरहेछ मेरो बहिनिले आफ्नो जीवन ।

        जीन्दगी कति लामो छ , कति सुन्दर छ भन्ने बुझ्न नपाउदै जीन्दगीका कलिला कोपिलाहरूमाथी नै आखा लग्यो दैवको । के सोच्दछ होला त्यो सानो मान्छेले , जसलाइ राम्रोसंग जीन्दगीको परिभाषा पनि थाहा छैन , जसले आगोले पोल्छ भन्ने सुनेको छ , काँडाले कोप्छ भन्ने सुनेको छ तर कसरी अनि किन यसो गर्छ भन्ने भोग्नसमेत भ्याउ पाइसकेको छैन ।

                        सम्हालेर हिड्नुभन्दै भिर पठायो , ,  
                       हासीखुसी जिउनुभन्दै पिर पठायो , ,  
                       सगरमाथी चुम्नेसम्म सपना मलाइ देखाएर,  
                       आधा जिउदो आधा मारेर शरिर पठायो । 

सानो परिवार भएपनि हामी मध्यमबर्गको परिवार अन्तर्गत पर्ने परिवार थियो ।बुवाको सामान्य कृषी पेशा अनि आमाको घरयासी कामधन्दा । खानको लागी कसैसंग अहिलेसम्म कसैसंग हात जोड्न नपर्ने हाम्रो परिवारमा एकाएक दुर्घटना घट्न पुग्यो , जुन हाम्रो हैसियतभन्दा निकै माथीको थियो । ऋण लागेर केहि हुदैन तर दिन नलागोस् भन्ने उखान सुनेझै हामी अब बहिनिको उपचार गर्नको लागी जोहो गर्नतिर लाग्याै । भनिन्छ नि आफन्तहरू भनेको त्यस्तो हुनुपर्छ जो मरेको अनि परेको बेलामा साथ दिने होस् तर त्यस्तो हुदो रहेनछ ।सम्बन्धहरू त्यतीबेला सम्म रहिरहदा रहेछन् जतिबेलासम्म सम्बन्धमा स्वार्थको गन्ध थाहा पाउछन् आफ्नै आफन्तले ।भनिन्छ आफ्ना भानाउदाहरु धोखेबाज हुन् ,यो सरासर झुट हो , जो आफ्ना हुन्छन् ती कदापि धोखेबाज हुन् सक्दैनन् , मैले जसजसलाइ आफ्नो भनेर चिनेको थिए ,तिनिहरू आफ्नै होइन रहेछन् ।

भोकै मलाइअघि राखी टन्न खाइस् तैँले 

नगरेको पाप पनि भोग्न लगाइस् तैँले ,

बिधातालाइ भेटेँभने यहि सोध्न मन छ ,

मलाइ यस्तो बनाएर केचाँहि पाइस तैले ?

         दिन बित्दै गयो , रात बित्दै गयो , तर भनेजसरी अनि सोचेजसरी काल पनि टपक्क टिप्न  नआउने रहेछ मान्छेको जीवनमा । भनिन्छ नि आयु भए उपाय लाग्छ , एक दिन रात परेपछि  भोलिपल्ट पुर्वतिरवाट मुस्कुराउदै खुसीका छहराहरू फाल्दै उदाउछ सुर्य पनि । हो त्यसैगरी मलाइ अहिलेको जीन्दगी सामान्य जस्तो लाग्दै जान थाल्यो, जेनतेन पहिलेको लयमा फर्किदैछ मेरो जीवनपनि हप्तामा एकचोटी डायलाइसिस् गराउनुपर्छ बहिनीलाइ । मान्छेले त्यति मात्र पाउछ जति उसको भागमा माथीबाट लेखेर आएको हुन्छ । पुरा इन्धनले भरिएर उड्न लागेको उडान , आकाशमा आउने बादलका सानातिना टर्वुलेन्सबाट बाच्दै अगाडी बढेजसरी मेरो जीवन पनि सहज अगाडी बड्दै छ । न कुनै करा पाउनेको आशा न कुनै कुरा गुमाउनुको पिडा , न धनको लोभ , न कसैसंग बैमनस्य ।एउटा दाइको नाताले मैले जिवन जिउन्जेल ,मेरो बहिनीलाइ पनि जीवन जिउन सक्ने बनाउनुछ , मैले यो संसार हेर्ने बेलासम्म मेरो बहिनीलाइ पनि हेर्न सक्ने बनाउनुछ । जीन्दगीमा जतिसुकै दुखकष्टहरू आइलाग्दा पनि पन्छाउनुछ , अनि फर्किनुछ उहि पुरानै कामतालिका र जीन्दगीको लयमा । डाडाको देउरालीलाइ साच्ची राखेर भन्छु ,बहिनी यो दाइको स्वासले मलाइ घात नगरून्जेल तिमीले ऐया पनि भन्न पर्ने छैन  र तिम्रो दाइले गरेको कामले दुनिया संसारले पाठ सिकोस् मात्र यहि चाहन्छु। 

                       एउटा कुरा ए हजुर सोचिदिनुहोला ,
                       सुनाउन भएँ म मजबुर सोचिदिनुहोला ,
                       कसैलाइ केहि पिडा दिनुभन्दा अघी ,
                       आफैलाइ त्यही राखी जरूर सोचिदिनुहोला ।

         हो आज मेरो बहिनि थियो र पो यो कुरा मैले भोगेको छु , भोली त्यो ठाउँमा तपाइको दिदी , बहिनी , दाइ , भाइ , बा , आमा जो पनि हुन सक्छ । चाहे जोसुकै होस् मान्छेको जीवनमा समस्याहरू आइपर्छन र समस्यालाइ उस्ले कसरी पन्छाएर अगाडी बड्छ भोलीको जीन्दगी त्यतीनै सफल र सान्दर्भिक हुन्छ । तर किन सोच्दैन मान्छेले , मान्छे किन यति धेरै स्वार्थको पोखरीमा कहिल्यै नउत्रिनेगरी पौडिन्छ ?

        रातभरी अध्यारो बनाउनेगरी अस्ताएको सुर्य भोली बिहनै उदाउनेछ, अध्यारोलाइ झन गम्भिर बनाउन रातभरी झरेको शितका थोपाहरू घाम देखेपछी लाजले पग्लिनेछन्, चैत्रको खडेरीमा रा….तो हुनेगरी उजाडिएका बनजङ्गलहरू जेष्ट नलाग्दै हरियालीले झकिझकाउ हुनेछन् , जीन्दगीको बाटोमा हिड्दैगर्दा  छुटेकाहरू कालपरान्तकाल पछी भेटिनेछन् आउनेहरू हात मिलाएर आउनेछन् , जानेहरू हात हल्लाउदै जानेछन् । छोराको प्रतिक्षामा बर्षाैसम्म प्रतिक्षा गरेकी पल्लाघरे माइलीआमाले आफ्नो अन्तिम सास् आफ्नै छोराको काखमा त्याग्नेछिन अनि  तिमीले पाएको यो अमुल्य जीवन सधैभरी जोगाइरहन तिम्रो दाइ हरवखत लागिरहनेछ ,जसोतसो गरी चाहे आधा खाएरनै किन नहोस् तिमीले मृगैला प्रत्यारोपण गर्न पाउनेछाै तिमीले पुरा आयु जिउनेछाै  अनि एकदिन भन्नेछाै “ यस् आइ मेड इट , लभ् यु जीन्दगी “

        यत्तिका कहालीलाग्दा कुरा सोच्दैगर्दा म झल्यास्स बिउझिन पुगेछु , कतैबाट आवाज आयो ,जुन आफुलाइ सबैभन्दा प्रिय लाग्ने आवाज थियो र आवाजमा भनिएको थियो , बाबु,छोरा चिया पिउने बेला भयो , अब उठ्नुपर्छ , कति अबेरसम्म सुतेको लाटा ।

 


No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...