पाइला अगाडी बढाउदै गर्दा हराउँछु , पाइला रोकिदै गर्दा हराउँछु , आँखा चिम्लिदैगर्दा हराउँछु , आँखा खोलेपछि हराउछु , म संसार हेर्दा हराउँछु , संसारले मलाइ हेर्दा हराउँछु ।हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
बिहान सबेरै भाले बासेपछी , सुर्यका किरणले डहरेको लेकलाइ चुम्दा खेरी म हराउँछु ; चैत्रमासको उराठलाग्दो गर्मीमा ज्यानभरी आएका अमिलो गन्धका पसिनाका भेलहरू पुछ्दैगर्दा म हराउँछु ; अनि साझ परेपछी लिमीको कोटबाट घाम अस्ताउदै गर्दा आजको दिन पनि यसरीनै बित्यो है भन्दै म हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
आकाशमा न कुनै आशा , न कुनै निराशा , आफ्नै गतिमा उडिरहेको चरी देख्दा हराउँछु ; जमिनमा कोहि हिडिरहेको , कोही आफ्नै गतिमा दाैडिरहेको मान्छे देख्दा हराउँछु ; पानीमा पिलिक पिलिक आखा पारेर पाैडिरहेको माछा देख्दा हराउँछु ,जमिनमा घिस्रिरहेको लोखर्के , अनि न्याउरीमुसो देख्दा हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
प्रेमको संसारमा डुबुल्की खेल्ने मान्छे म , कहिले उनलाइ देख्दा हराउँछु , कहिले उनको कुरा सुनेर हराउँछु ; कहिले अरू कसैले उनको बारेमा गरेको बयान सुनेर हराउँछु ; कहिले उनि प्रति उठिरहने मेरा भावनाहरू सम्झेर हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
कहिले सगरमाथाको चुचुरामा पुगेर समुन्द्रको कल्पना गर्दै हराउँछु ; कहिले समुन्द्रको किनारमा गएर सगरमाथा सम्झेर हराउँछु ; कहिले खहरेको भेलको त्यो रवाफ , जुन सगरमाथाबाट समुन्द्रसम्म पुग्छ , त्यसको चरित्र हेरेर हराउँछु ।हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
जीन्दगीको उडान भरिसकेको मान्छे म ,
पाइलाहरू अगाडी बढाउदै गर्दा दोबाटोमा भेटिएका र छुटेको बटुवा सम्झेर हराउँछु ; बाटोमा हिड्दैगर्दा पाइला रोक्न ठाडो परेर बसेको दाह्रे ढुङ्गाहरू देखेर हराउँछु ; कुकुरले हड्डी नछाोड्दा झै मैसंग टासिरहने हिड्दैगर्दा आइलाग्ने समस्याहरू सम्झेर हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
गित संगित प्रति प्रगाढ माया भएको मान्छे म , सहरको फुटपाथमा सुर न ताल भएका माग्नेहरूको गित सुनेर हराउँछु ; यात्रा गर्दैगर्दा गाढीमा बज्ने अनेकथरि गाना सुनेर हराउछु ; त कहिले मनमनै गुन्जिरहने मेरो आफ्नै आवाजमा हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
केही प्रगति गरिएला कि भनेर सहरमा बसेको मान्छे म , महिनाैपछि मेरो गाउँमा जादा , मेरो घरले गरेको स्वागत सम्झेर हराउँछु ; लामो समयपछि देखेपनि गोठमा बाधेका पशुचाैपायाको बुर्कुसी मारेको देखेर हराउँछु ; घरको छानोमुनी गाैथलीले बनाएको गुँडबाट गाैथलीका बचेराहरूको चिरबिर आबाज सुनेर हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
हिउदको खडेरीपछी बर्खायाम लाग्दा नलाग्दै रूखहरूले पालुवा फेरेको देख्दा हराउँछु ; बर्षदिनमा एकपटक भएपनि सर्पले काचुली फेरको देख्दा म हराउँछु ; दशै तिहारमा सबै मान्छेहरू गाउँ फर्किन्छन् ,त्यो मान्छेको गाउ फर्किने लहर देखेर हराउछुँ ।हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
चैत्रमासको खडेरीमा चाैतारामा घुँडा खोप्चेर चिसो हावा लिदै गरेका हजुरवा हजुरआमाका कुरा सुन्दा हराउँछु ; हेर्दै नहेरि ,देख्दै नदेखी १२ बर्षका हजुरबाले ६ बर्षकी हजुरआमा बिहे गरेको सुन्दा हराउँछु ; दिनभरी साहुको मेलामा काम गरेर बेलुका फर्किदा ज्यालास्वरूप एक मानो चामल ल्याएर गुजारा चलाएको कुरा थाहा पाउँदा हराउँछु , म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
जब दिन ढल्किदै जान्छ ,गोधुलीको मलिन अनि शान्त अनुहार देखेर म हराउँछु ; आमाले दियो बालेर पुजा गरिसकेपछि गमक्क परेर बसेको दियो देखेर हराँउछु ; पुर्णिमामा टहटह लागेका जून देखेर हराउछु ,औशीमा त्यो नियास्रोलाग्दो कालो रातमा हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
परिवारलाइ फर्केर हेर्दा ,
प्रत्येकचोटी मैले बाआमालाइ हेर्दा , उहाको अनुहारमा देखिने चमक अनि अनिष्चय बुझ्दा हराउछु; मलाइ हुर्काउन गर्नुपरेको दुख ; अरूका छोराछोरीले प्रगति गर्दा र अाफ्नाले नगर्दा अमिलिएको मन ; सहरमा किनमेल गर्न जाँदा खाली खुट्टा पैशा सकिन्छ भनेर एक कप चिया पनि नखाने मेरा बा ; कसाैडीमा भात छैन भन्ने थाहा पाउदा पाउदै पनि अझै खा खा भन्ने मेरी अामा ; देशले रोजगार नदिएको प्रदेशिएका मेरा दाइ ; भाइले सधैभरी राम्रो गरोस् भनेर मन्दिर धाउने मेरी दिदी , सबैलाइ देखेर म हराउँछु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
जवानीको प्रवाह नगरी ठुलो मान्छे बन्ने सोचमा जीन्दगीको उडान भरेको मान्छे म , उमेरले दुइ दशकको नेटो काट्नैलाग्दा ,म भने विद्यार्थी जीवन कटाइरहेछु , हातमा हरयो मसीले कराेडाैँको लेनदेनको सहरको बन्द कोठामा दिनरात अङ्क अनि अक्षरहरूसंग सिङ्गोरी खेल्दै, मनलाइ शान्त बनाउदै सुन्दर भबिष्यको कल्पना गर्दै गर्दा हराउछुँ आर्थिक बिवरणमा हस्ताक्षर गर्ने समयमा म भने कालो कलमले लेखिरहेछु , जीन्दगीको कहानीहरू । जिन्दगीसंगको हिसाबकिताब नमिलेको मान्छे म ; हो एक मान्छे म । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
हो जीन्दगीको वासलतमा सम्पत्ती र दायित्व बराबर नभएको मान्छे म ; लिनुभन्दा दिनु धेरै भएको मान्छे म ; आकस्मित सम्पत्तीको(Contingent Asset)सुची लामो भएको मान्छे म। हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
हो म विद्यार्थी हुँ , एक चार्टर्ड अकाउन्टेन्टको विद्यार्थी ,जसको जीवनमा आउने खुसिलाइ आफैले लेखेका सपनाले अपहरण गरे ।जबानीमा कपाल सेतो बनाउनुपर्यो , अरूको खुसी हेरेर चित्त बुझाउनु पर्यो । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
न कसैको आश न कसैको भरोसा ,सबै पिडाहरूलाइ धितो राख्दै अघि बड्दै छु , थाहा छैन यो यात्राले कहासम्म उडान भर्छ ? तर मलाइ यति थाहा छ , मेरो अन्तिम सास रहुन्जेल म गन्तब्यबाट एक कदम पनि पछि हट्ने छैन, खुट्टा डगमगाउने छैन, पाइला रोकिने छैन । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
...
आगो खाएर पचाउन सक्ने बन्नु छ , ढुङ्गाजस्तै कठोर मन बनाउनु छ तब पो बाह्र बर्षमा खोलो फर्किनेछ ,सु्र्य पश्चिमबाट उदाउनेछ,चराहरू घिस्रनेछन् , सर्प उड्नेछ ,समुन्द्र पनि बरालिनेछ , खहरे शान्त हुनेछ अनि मेरा बा आमाका अनुहारमा बर्षाैदेखी हराएको चमक फर्किनेछ , गर्वसाथ भन्न पाउनेछन् मेरो छोरो , स्यावास् छोरो । हो एकचोटी मेरो पनि दिन आउनेछ , खुसीका दिन ।यहि सोच्दै सोच्दै म बिहान बिस्ताराबाट बेलुका बिस्तारामा नपुगुन्जेल हराइरहन्छु । हो म हराएको मान्छे ! मेरो खोजी गरिदेउ सरकार , आखिर म को हुँ ?
.............................................................................................................................................................................................
© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.